नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको पृथ्वी हलमा आयोजित Know Your Economy (KYE) Module अन्तर्गत ACMD-2 को अन्नपूर्ण समूहले नेपालमा बैदेशिक सहायता शिर्षकमा प्रस्तुतीकरण गरेको थियो । राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रमको उद् घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका उपकार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्सालले पानसमा बत्ति बालेर गर्नुभएको थियो। साथै सो कार्यक्रममा Nepal Administrative Staff College (NASC) का faculty member श्री उत्तम आचार्य लगायत KYE Module का संयोजक श्री शिवहरि अधिकारी, जानकी समूहका तालिम संयोजकहरु श्री अनिल गुप्ता र श्री अन्तोभ्ना ज्ञवालीको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन श्री शैलेश पोखरेलले गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता श्री अरुणा नकर्मीले गर्नुभएको थियो भने अन्नपूर्ण समूहको तर्फबाट श्री दुरपदा सापकोटाले नेपालमा वैदेशिक सहायता (विकास सहायता), यसको प्रभाव र असर सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा श्री ताराकुमार सुवेदी Event Manager, श्री दिपक कुमार थापा Commentator, श्री तारा दत्त भट्ट र श्री नरेश कुमार सिंह Rapporteur रहनुभएको थियो ।
प्रस्तुतकर्ता श्री सापकोटाले वैदेशिक सहायता भनेको के हो भन्ने विषयलार्इ उल्लेख गर्दै यसको संक्षिप्त इतिहास, प्रवृत्ति, हालको अवस्था, विकास सहायताले नेपालको समग्र सामाजिक आर्थिक विकासमा पारेको प्रभाव, विकास सहायता परिचालनमा देखिएका समस्याहरु, नेपालको सन्दर्भमा वैदेशिक सहायताका सम्भावित विकल्प, यसका फाइदा र बेफाइदा सम्बन्धमा विस्तृतमा प्रस्तुतीकरण गर्नुभएको थियो । यसै गरी नेपालमा वैदेशिक सहायता प्रदान गर्ने देश तथा विभिन्न संघ संस्था, निकायहरु जस्तै: विश्व बैंक, एसियाली विकास बैंक, जापान, चीन, भारत, अमेरीका, युरोपियन युनियन आदि रहेको बारेमा समेत जानकारी गराइएको थियो । वैदेशिक सहायताले विशेष गरी आधारभुत आवश्यकता, खाद्यान्न सहायता, पूर्वाधार विकास, ग्रामीण विकास, मानव विकास, गरिबी निवारण, दिगो विकास, जलवायु परिवर्तन आदिका क्षेत्रमा सहयोग गरेको भन्ने कुरा प्रस्तुतीका क्रममा उल्लेख गरिएको थियो ।
मुलुकमा हाल संघीय संरचना अनुसार तीन तहको सरकार सञ्चालनमा रहेको र संघीयतामा वैदेशिक सहायता कसरी प्राप्त गर्ने, त्यसलाई कसरी बाँडफाँड गर्ने सम्बन्धमा नेपालको वर्तमान संविधान, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ तथा अन्तराष्ट्रियविकास सहायता नीति २०१९ ले स्पष्ट व्यवस्था गरिदिएको भएता पनि देशका सातवटा प्रदेश मध्ये हालसम्मको हेर्दा बाँडफाँड बागमती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा न्यून वैदेशिक सहायता प्राप्त भएको कुरा प्रस्तुतिबाट थाहा भएको थियो । साथै वैदेशिक सहायताबाट शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, यातायातका पूर्वाधार (बाटो-घाटो, विमानस्थल आदि), मानव संसाधन विकास, सूचना तथा संचार प्रविधिको प्रयोग र विकास, सामुदायिक वन लगायतका क्षेत्रमा उल्लेख्य सुधार भएको कार्यपत्रमा बताइएको थियो ।
प्रस्तुतिका क्रममा वैदेशिक सहायता प्रतिवेदन २०२०/२१ अनुसार हाल नेपालमा करिब ३६२ परियोजनामा वैदेशिक सहायता कायम रहेको र वैदेशिक सहायताको रकमको सही सदुपयोग नहुनाको कारणहरुमा खर्च गर्ने क्षमता कम हुनु, परियोजनाको संख्या तथा टुक्रयाउने प्रवृत्ति बढी हुनु, शर्तहरु सहितको सहायता प्राप्त हुनु, अनुदान रकम समयमा प्राप्त नहुने, भने जतिको रकम सबै प्राप्त नहुनु, वैदेशिक सहायता प्रति नकारात्मक धारणाको विकास हुनु, वैदेशिक सहायता राजनीति प्रेरित हुनु लगायत विभिन्न कारणहरु रहेका छन् भन्ने सम्बन्धमा समेत प्रष्ट पार्नुभएको थियो ।
वैदेशिक सहायताको विकल्पमा निर्यात प्रवर्द्धन, वैदेशिक लगानी, पर्यटन, आन्तरिक स्रोत साधनमा आधारित परम्परागत ज्ञानको विकास गरी सो परम्परागत ज्ञानलाई आधुनिक प्रविधिसँग जोडी उद्योगधन्दाको विकास हुन सक्ने भएता पनि नेपालको आफ्नो स्रोत साधनले मात्र नेपालले तय गरेका लक्ष्यहरु जस्तै, अतिकमविकसित राष्ट्रको सूचीबाट स्तरोन्नती, दीगो विकास लक्ष्य प्राप्त गर्ने, सन् २०३० सम्ममा मध्यम आय भएको देश बन्ने तथा समृद्ध नेपाल सुखी नेपालीको मूल लक्ष्य हासिल गर्न आन्तरिक स्रोत प्रर्याप्त नहुने भएकोले वैदेशिक सहायता आजका दिनसम्म अपरिहार्य रहेको सन्दर्भ उल्लेख गर्दै वैदेशिक सहायताको प्रभावकारी परिचालनमा जोड दिनुपर्ने देखिन्छ ।
उक्त प्रस्तुतिकरणमा टिप्पणीकर्ता श्री दिपक कुमार थापाले टिप्पणी गर्नुभएको थियो । उहाँले समग्रमा प्रस्तुतकर्ताले पेश गर्नुभएको प्रस्तुती राम्रो भएको तर वैदेशिक सहायताको सैद्बान्तिक पक्ष तथा नेपालमा वैदेशिक सहायताको खर्चप्रणाली लगायतका विषयहरु प्रस्तुतीकरणमा नसमेटिएकोले सो कुरा प्रस्तुतिमा समेटिएको भए अझ राम्रो हुने सुझाव दिनु भएको थियो।
कार्यक्रमको खुला सत्रमा सहभागीहरुको तर्फबाट श्री कृष्ण प्रसाद जैशी, श्री कुल प्रसाद तिवारी, श्री गिरीराज ज्ञवाली, श्री मोहन सिंह बस्नेत, श्री शरद राज आरण, श्री श्रीकमल द्विवेदी, श्री गोपाल गौतम, श्री वन्दना झा लगायतले आआफ्ना टिप्पणी, सुझाव, सल्लाह र जिज्ञासाहरु राख्नुभएको थियो । सो जिज्ञासाहरुको जवाफ कार्यपत्र प्रस्तुतकर्ता श्री दुरपदा सापकोटाले दिनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका उपकार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्सालले कार्यपत्रको प्रशंसा गर्दै वैदेशिक सहायताको कुरा गर्दा Foreign Aid Governance लार्इ समेत समेट्नु पर्ने लगायतका सुझावहरु दिनुभएको थियो ।
कार्यक्रमको अन्तमा कार्यक्रमका अध्यक्ष श्री अरुणा नकर्मीले लिच्छवीकालमा हामीले आफ्नै स्रोत साधन, प्रविधिको प्रयोग गरी निर्माण गरेका पुरातात्विक संरचनाहरुको पुननिर्माण समेतवैदेशिक सहायतामा हुने गरेकोले वैदेशिक सहायता कुन क्षेत्रमा लिने तथा सो सहायता कसरी परिचालन गर्ने भन्ने सम्बन्धमा नेपाल सरकारले स्पष्ट गर्नुपर्ने विचार राख्नुका साथै कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुलार्इ धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

