नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आज मिति २०७८ भाद्र २५ गते शुक्रबारका दिन प्रतिष्ठानको मेची हलमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका १६ जना अधिकृत कर्मचारी तथा उप-सचिवहरुलाई ५ दिने संघीयता तथा वित्तीय संघीयता सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा बोल्दै आयोगका सचिव श्री गोकर्णमणि दुवाडीले यस कार्यक्रमले प्रशिक्षणमा सहभागी आयोगका कर्मचारीहरुको क्षमता अभिबृद्धि मार्फत आयोगको भूमिकालाई समेत प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गर्नुभयो । साथै यसले प्रशिक्षार्थीहरुको कार्यसम्पादनमा समेत सकरात्मक प्रभाव पार्ने र कार्यसम्पादनलाई अझ बढी प्रभावकारीरुपमा सम्पन्न गर्न सहयोगी हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो । उदघाटन मन्तव्यका क्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले वित्त आयोग र प्रतिष्ठानबीचको यो सहकार्यले क्षमता विकास र अनुभव आदान प्रदानमा महत्वपूर्ण सहयोग हुनेछ भन्ने विश्वास व्यक्त गर्नुका साथै यस्ता कार्यक्रमहरुले संघीयता र वित्तीय संघीयता सम्बन्धी आयोग, प्रतिष्ठान र विज्ञहरुको बुझाईमा एकरुपता ल्याउन सहयोग पुर्याउने विश्वास पनि व्यक्त गर्नुभयो ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका बिचमा आयोगका कर्मचारिहरुको क्षमता अभिवृद्धि, अनुभव आदान प्रदान र आयोगले गरेका निर्णय तथा सिफारिसको प्रकाशन तथा प्रशार गर्ने उद्देश्य अनुरूप भएको समझदारी पत्रको कार्यान्वयनका क्रममा यस प्रशिक्षक प्रशिक्षण कार्यक्रमको सञ्चालनमा आएको छ र आगामी दिनमा थप कार्यक्रमहरू उत्साहका साथ सञ्चालन गरिने छ ।