३ दिने सम्झौता वार्ता सीप प्रशिक्षण सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलको महाकाली हलमा मिति २०७९ आषाढ १५ गतेदेखि सीमावर्ती कार्यालयका अधिक्रितहरुका लागि सन्चालित ३ दिने सम्झौता वार्ता सीप प्रशिक्षण गत: आषाढ १७ गते सम्पन्न भयो । प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालज्यूको अध्यक्षता तथा   Management Learning Group का बिभागीय प्रमुख,वरिष्ठ अध्ययन निर्देशक श्री बसन्त राज सिग्देलज्यू, Centre for Organization Development का केन्द्र प्रमुख, अध्ययन निर्देशक श्री बिनोद कुमार बिष्टज्यूको उपस्थितिमा समापन कार्यक्रम भएको थियो ।  समापन कार्यक्रमको संयोजन,  संयोजकहरु  श्री शुषमा चित्रकार र श्री प्रमोद निरौलाबाट भएको थियो । उक्त प्रशिक्षणमा एक महिला अधिक्रित गरी २६ जना प्रशिक्षार्थी हुनु हुन्थ्यो ।

समापन कार्यक्रमको शुभारम्भ प्रशिक्षणको दौरानमा भएका बिभिन्न गतिबिधि तथा सेशनका क्लिपहरुको छोटो भिडियो प्रस्तुतिबाट गरिएको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षार्थीका तर्फबाट आफ्नो भनाइ र सुझावहरु राख्ने क्रममा श्री धर्मराज भट्टज्यूले जीवन एउटा सिकाइ हो भन्नु भयो । आफूहरु फिल्ड अपरेटरको रुपमा कार्यरत रहेको र सिकिएका कुराहरुले आफ्नो काम गराइ र पेशालाई जीवन्त बनाउँदै आएको पनि बताउनु भयो ।
राष्ट्र सेवकको क्षमतालाई बढाउन योगदान पुर्याउनेमा प्रतिष्ठान एक मात्र अग्रणी संस्थाको रुपमा रहेको कुरा उल्लेख गर्नु हुँदै उहाँले आफूले यो प्रशिक्षणबाट सिकेका जीवनपयोगी ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो । प्रशिक्षणको प्रभावकारीता बुझ्नको लागि फलो अप र ३ दिनको अवधि अलि कम जस्तो लागेकोले बढाएर ५ दिनको गर्न सकिन्छ कि भन्ने अनुरोध पनि उहाँले गर्नु भयो ।    

कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र बितरण पछि प्रतिष्ठानका कार्यकारी निर्देशकज्यूले सबैलाई धन्यवाद दिनु भयो । यो सम्झौता वार्ता सीपको प्रशिक्षण छोटो नै सारगर्भित रहने कुरा उल्लेख गर्नु हुँदै यसले यसको महत्व अझै बढाउँछ, उहाँले भन्नु भयो । हामीले प्रशिक्षण मार्फत् दिने ज्ञान सीपलाई आफ्नो ब्यवहारमा उतारेर सेवा प्रवाहमा प्रभावकारीता ल्याउन आत्म नियन्त्रणका तरिका पनि जान्नु पर्छ भन्ने कुरामा उहाँले जोड दिनु भयो । सम्झौता वार्ता सीपको प्रसँगमा उहाँले अगाडि थप्नु भयो कि बिपक्षबाट मागहरु बढ्दै जाँदा र त्यसलाई बेलैमा सम्बोधन गर्न सकिएन भने सम्झौता महँगो पर्न सक्छ । दुई पक्ष बिच लिखित सम्झौता हुनु अगाडि सौदाबाजी हुन सक्यो भने त्यो राम्रो हुन्छ । आफूले सिकी जानेका कुरा लागु गर्न शुभकामना दिनु हुँदै उहाँले अन्तमा सम्झौता गर्ने कार्यमा सूचनाको ठूलो महत्व रहने हुँदा सकेसम्म बढी सूचना सँकलन र अभिलेखिकरण गर्नु पर्ने साथै त्यस्ता सूचनालाई संस्थागत अभिलेखको रूपमा सम्बन्धित पदाधिकारीहरुमा हस्तान्तरण गर्दै जानु पर्ने पनि बताउनु भयो ।