"हरित अर्थतन्त्र तर्फ नेपालको अग्रसरता र त्यसमा जलविद्युत क्षेत्रको योगदान” - एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC) मा सञ्चालित नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणी वा सो सरहका कर्मचारीहरुको सेवाकालीन तालिमको ‘KNOW YOUR ECONOMY’ मोड्युल अन्तर्गत अन्तर्गत समूह १ ले २०८० साल असोज ८ गते सो प्रतिष्ठानको सम्पदा सदनको कैलाश हलमा “Nepal's Pathway to Green Economy: The Contribution of Hydroelectricity Sector” विषयक एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भयो । 

विश्वमा बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्दै नेपालको आर्थिक तथा पूर्वाधार विकास‌मा हरित अर्थतन्त्रको महत्व र यसको लागि नेपालले गरेका नीतिगत, कानूनी र संरचनागत प्रयासको विषयमा प्रस्तुति भएको थियो । कार्यपत्रको प्रमुख उद्देश्य जलविद्युत क्षेत्रले नेपालको हरित अर्थतन्त्रमा गरेको योगदानको विश्लेषण गर्दै दिगो तथा वातावरणमैत्री विकासको लागि सम्भावना तथा चुनौतीको चिरफार गर्नु रहेको थियो । नेपालले हरित अर्थतन्त्र र ऊर्जा उत्पादनमा लिएका दीर्घकालीन लक्ष्य महत्वकांक्षी रहेको भएतापनि उपयुक्त रणनीति अवलम्बन गरिएमा हासिल गर्न सकिने देखिन्छ । सो अनुसार कार्यपत्रमा विद्युतको दिगो उत्पादन, आन्तरिक माग विस्तार र हरित हाइड्रोजन उत्पादनको साथै रणनीतिक रूपमा अन्तर्देशीय ऊर्जाको व्यापार तथा संस्थागत सुदृढीकरणमा जोड दिनुपर्ने सुझाव प्रस्तुत गरिएको थियो । 

कार्यक्रममा सहभागीहरुको तर्फबाट नेपालको जलविद्युत विकासमा आवश्यक पर्ने ज्यादै ठूलो पुँजीको अभाव पूर्ति गर्ने, विद्युतको आन्तरिक उपभोग वृद्धि गर्ने, जलवायुमैत्री र दिगो जलिवद्युत उत्पादन गर्ने सवालमा जिज्ञासा राख्नु भएको थियो । कार्यक्रमको टिप्पणीकर्ता सिर्जना बरालले जलविद्युत उत्पादनसँगै खपतको विषयलाई समेत राष्ट्रिय नीतिसँग आवद्ध गर्नुपर्ने विषय उठान गर्नु भएको थियो । 

नेपालमा उर्जा खपतको वर्तमान अवस्था, सम्भावना र भविष्यमा ऊर्जा खपत हुनसक्ने क्षेत्रहरुको विश्लेषण गर्दै उक्त उर्जालाई हरित ऊर्जाले कसरी विस्थापन गर्न सकिन्छ भन्ने विषयमा तालिम संयोजक ताराप्रसाद खरेलले कार्यपत्र माथि सुझाव दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् NASC का उप-कार्यकारी निर्देशक श्री विष्णु प्रसाद लम्सालले उत्पादित जलविद्युत निकासी गर्नु भन्दा उद्योग क्षेत्रमा उपयोग एवम् जीवाष्म इन्धन विस्थापन गर्दै आन्तरिक उपभोग बढाउन केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो ।

उक्त कार्यशालाको अध्यक्षता श्री अमृत कुमार धितालले गर्नुभएको थियो भने कार्यक्रममा डा.चक्रपाणि आचार्य, डा. शिव खनाल र महेन्द्र महतोले कार्यपत्रको प्रस्तुतीकरण गर्नुभएको थियो । साथै, कार्यक्रममा प्रतिवेदकको जिम्मेवारीमा धिरज बानिया रहनुभएको र कार्यक्रमको समग्र व्यवस्थापन श्री सरस्वती गुरुङले गर्नुभएको थियो ।