सूचना प्रविधि सम्बन्धी गोष्ठीको पहिलो दिनको पहिलो सत्र डिजिटल पूर्वाधार (Digital Infrastructure) #ACMD3

ललितपुर, ४ चैत्र, २०८१, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरको संपदा सदनको अरनिको हलमा सूचना प्रविधि सम्बन्धी दुई दने गोष्ठीको शुभारम्भ भयो । प्रतिष्ठानले राजपत्राङ्कित द्वितीय तह वा सो सरहका अधिकृत कर्मचारीहरुका लागि सञ्चालन गरिरहेको  सेवाकालिन तालिम Advanced Course on Management and Development (ACMD-3) को चौथो मोड्युल Know Your Knowledge (KYE) को मूल्याङ्कन हेतु उक्त गोष्ठी सञ्चालन गरिएको हो । प्रशिक्षार्थीहरूलाई चार समूहमा विभाजन गरी प्रत्येक समूहको एक प्रस्तुति रहने गरी गोष्ठीमा जम्मा चारवटा सत्र रहने छन् । आज Digital Infrastructure Study Group ले गोष्ठीको पहिलो दिनमा  Digital Infrastructure - Who gets online? Examining the socioeconomic factors of internet adoption in Nepal विषयक पहिलो सत्र सञ्चालन गरेका थिए । यस समूहमा Chair (अध्यक्ष) श्री मोहन निरौला, Event Manager (सत्र व्यवस्थापक) डा. युवराज पौडेल, Presenters  (प्रस्तोताद्वय) डा. अनिल श्रेष्ठ र श्री शङ्कर प्रसाद पौडेल Rapporteur and Commentator (रापोर्टर तथा टिप्पणीकर्ता)  डा. सुरेश महर्जन रहनु भएको छ ।

प्रतिष्ठानका उप-कार्यकारी निर्देशक विष्णु प्रसाद लम्सालज्यूको प्रमुख आतिथ्यता सञ्चालन भएको उक्त सत्रमा प्रतिष्ठानका वरिष्ठ निर्देशक श्री त्रिलोचन पोखरेल, निर्देशक रघु विष्ट र ACMD-3 का संयोजक तथा प्रतिष्ठानका उप-निर्देशक श्री शैलजा उपाध्याय अतिथिको रूपमा रहनु भएको थियो । सत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सह सचिव श्री आदेश खड्काज्यू विषय विज्ञ र प्रशिक्षार्थी श्री जय कुमार राउत टिप्पणीकर्ताको (Commentator) रूपमा रहनु भएको थियो ।

सत्रका अध्यक्ष निरौलाले सत्रको परिचय सहित सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्नुको साथै सत्र सञ्चालन पनि गर्नु भएको थियो । प्रस्तोताद्वय डा. श्रेष्ठ र पौडेलले प्रस्तुत विषयको (Limitation) सीमाको रूपमा डिजिटल पूर्वाधारका विभिन्न आयामहरू मध्ये घरायसी इन्टरनेट जडानमा सीमित रहनु, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्वारा प्रकाशित Nepal Living Standard Survey (NLSS) 2022/23 मा उपलब्ध तथ्याङ्कको आधारमा मात्र तथ्याङ्क विश्लेषण गरिनु र आर्थिक अवस्थाको प्रमुख सूचकाङ्क जस्तै सम्पत्ति र आय-आर्जनलाई Variables को रूपमा प्रयोग नगर्नू रहेको कुरा प्रस्तुत गर्नु भएको थियो । प्रस्तोताद्वयले NLSS 2022/23 मा उपलब्ध सम्बन्धित तथ्याङ्कलाई तथ्यपरक विश्लेषण (Descriptive and Logistic Analysis) गरी देशको सामाजिक-आर्थिक-भौगोलिक परिस्थितिले घरायसी इन्टरनेट जडानमा पर्ने असरलाई प्रस्तुत गरिएको थियो ।  

इन्टरनेटले भौगोलिक विकटता/दूरीलाई चिर्दै संसारलाई साँघुरो बनाइदिएको छ । इन्टरनेटले शिक्षा, स्वास्थ्य जस्ता विषयमा सजिलै पहुँच स्थापना गरि दिने र आर्थिक उपार्जनको अनगिन्ती अवसरहरू पहिल्याउन पनि सहयोग पुग्दछ । घरायसी इन्टरनेट जडानको माध्यमबाट इन्टरनेटले जुराउने अनगिन्ती अवसरहरूलाई उचित रूपमा प्रयोग गर्न सकेको खण्डमा घर परिवारको मात्र होइन सिङ्गो नेपालको Gross Domestic Product (GDP) लाई बढाएर नेपाल सरकारको २०३० सम्ममा अतिकम विकसित राष्ट्रबाट मध्यम आयको राष्ट्रमा पुग्ने  र दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने विषयलाई सत्रमा तथ्यपरक रूपमा प्रस्तुत गरिएको थियो ।

नेपालमा घरायसी इन्टरनेट जडान दिनानुदिन बद्ढै गइरहेको छ तर अहिले पनि नेपालमा दुई तिहाइ घरहरू (६६%) घरायसी इन्टरनेट विहीन छन् । नेपालको ग्रामीण क्षेत्रका २२% घर र शहरी क्षेत्रका ६५% घरमा घरायसी इन्टरनेट जडान गरिएको पाइन्छ । त्यसैगरी सत्रमा नेपालमा घरायसी डिजिटल विभाजनका मुख्य कारकहरू शिक्षा, आर्थिक अवस्था, आवास, आय आर्जन, भौगोलिक अवस्था (शहरी/ग्रामीण क्षेत्र, प्रदेश), जातीयता, बिजुली जडान, महिला वा पुरुष घरमुली, परिवार सदस्य संख्या आदिको बारेमा विस्तृत तथ्याङ्क पनि प्रस्तुत गरिएको थियो । डिजिटल  विभाजनबाट हुनसक्ने आर्थिक क्षतिलाई मध्यनजर गरी नेपाल सरकारले देशमा डिजिटल समानताको लागि National Broadband  Policy मार्फत २०३० सम्ममा देश भरीमा इन्टरनेट कभरेज ९५% पुर्याउने, Rural Telecom Fund बाट ग्रामीण क्षेत्रमा टेलिकम टावरको संख्या बढाउँदै लग्ने र Digital Nepal Framework मार्फत E-governance Connectivity बढाउँदै लग्ने लक्ष्य लिएको छ ।

देशको आर्थिक अवस्था माथि उकास्नको लागि डिजिटल विभाजनलाई कम गर्दै लग्नुपर्ने आवश्यकताको बारेमा विस्तृत छलफल गरी यस प्रकृयाको लागि नेपाल सरकारलाई केही सुझावहरू पनि प्रस्तुत गरिएको थियो; विद्यालय शिक्षा र प्रौढ शिक्षामा डिजिटल साक्षरता सम्बन्धी शिक्षा समावेश गर्ने, ग्रामीण र पिछडिएको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने, सीमान्तकृत समुदायमा डिजिटल पूर्वाधार र यसको प्रभावको बारेमा जनचेतना अभियान सञ्चालन गर्ने, डिजिटल पूर्वाधार समानताको लागि कर्णाली, मधेश र सुदूर पश्चिम प्रदेश केन्द्रित रणनीति अवलम्बन गर्ने आदि ।

सत्रमा टिप्पणीको क्रममा प्रतिष्ठानका उप-निर्देशक लम्सालले प्रस्तुतीकरणमा बुद्धिमता पूर्वक प्रयोग गरिएको तथ्याङ्कले घरायसी इन्टरनेट जडान समाजको विकाससँग सम्बन्धित रहने कुरा प्रस्ट भएको र इन्टरनेटबाट हुन सक्ने फाइदाको सँगै यसबाट हुन सक्ने नकारात्मक प्रभावको दृष्टिकोणबाट पनि विश्लेषण गरिनु आवश्यक रहेको  कुरा राख्नुभयो । त्यसैगरी विषय विज्ञ खड्काले उमेर अनुसारको विवरण तथा Digital immigrant Digital native ले इन्टरनेट जडानमा पर्न सक्ने प्रभावको बारेमा अध्ययन आवश्यक रहेको बताउनु भयो । त्यसैगरी विज्ञले इन्टरनेटको सन्दर्भमा Who get online? मात्र नभई Why to get online? र How to get online? भन्ने विषय पनि त्यतिकै महत्व राख्ने कुरा राख्नुभयो । टिप्पणीकै क्रममा प्रतिष्ठानका वरिष्ठ निर्देशक पोखरेलले प्रस्तुतिमा प्रयोग गरिएको Data Analysis ले देशको Socioeconomic factors लाई न्यायोचित रूपमा प्रस्तुत गरेको कुरा बताउनु भयो । टिप्पणीकर्ता राउटले राम्रो प्रस्तुतिकरणको लागि सम्पूर्ण समूहलाई धन्यवाद ज्ञापन गर्दै इन्टरनेटको कारण समाजमा नयाँ नयाँ समस्याहरू देखा पर्न थालेको कुरा बताउनुभयो । टिप्पणीकै क्रममा प्रशिक्षार्थीहरु श्री तुला बहादुर चौधरी, डा. सबरी साह, श्री भक्त कुमार लाल, श्री कृष्ण गैरे र जय कुमार राउतले अन्तरक्रियामा सक्रियतापूर्वक जिज्ञासा, सुझाव एवं पृष्ठपोषण  व्यक्त गर्नु भएको थियो । सत्रको अन्तमा अध्यक्ष निरौलाले प्रमुख अतिथि, अतिथिहरू, विषय विज्ञ र सम्पूर्ण सहभागीहरूलाई सक्रिय सहभागिताको लागि आभार व्यक्त गर्दै सत्रको समापन गर्नु भएको थियो ।   

Download Report