"सार्वजनिक सेवा प्राप्तिको प्रवेश देखि वहिर्गमन विन्दुसम्मको यात्रा सहज बनाउनु पर्ने"
–कार्यकारी निर्देशक, ने.प्र.प्र.प्र.
अमित परियार,
जावलाखेल, चैत्र २२।
नेपाल सरकारबाट नवनियुक्त अप्राविधिक तर्फ विभिन्न सेवा समूहका तृतीय श्रेणीका अधिकृतहरुका लागि नेपाल प्रशासन प्रशिक्षण प्रतिठानले सञ्चालन गर्ने आधारभूत प्रशासनिक प्रशिक्षण (BAT) को ३८ औं शृङ्खलाका रारा, महाकाली र जानकी समूहका प्रशिक्षार्थी अधिकृतहरु र प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको शासन तथा सेवा प्रवाह (GSD) मोड्यूल अन्तर्गत "सार्वजनिक सेवाको ढाँचा र प्रवाह" शीर्षकमा विभिन्न तीन सार्वजनिक निकायहरुसँग सम्बन्धित पोष्टर प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । पोष्टर तयारीका लागि गत चैत्र १९ र २० गते रारा समूहले किर्तिपुर नगरपालिका, महाकाली समूहले काठमाडौं महानगरपालिका वडा नं. १६ र १७, आयुर्वेदिक चिकित्सालय, नरदेवी, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय र पब्लिक युथ क्याम्पस तथा जानकी समूहले तारकेश्वर नगरपालिकाको विभिन्न वडाहरुको स्थलगत भ्रमण गरेका थिए ।
प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालको प्रमुख आतिथ्यता, उप–कार्यकारी निर्देशक, प्रतिष्ठानका वरिष्ठ अध्ययन निर्देशकहरुको आतिथ्यता एवं मोडुल संयोजकहरुको उपस्थितिमा प्रशिक्षार्थी अधिकृतहरु बसन्त ढकाल र निशा वि.सी.ले उक्त कार्यक्रम सञ्चालन गर्नु भयो । उक्त कार्यक्रमको पहिलो चरणमा पोष्टर प्रदर्शन गरि दोस्रो चरणमा स्थलगत भ्रमणको learning reflection प्रस्तुतिकरण सहित दुई चरणमा कार्यक्रम सञ्चालन भयो ।
कार्यक्रममा पहिलो प्रस्तुतीको रुपमा जानकी समूहको तर्फबाट दिपक कुमार बञ्जराले तारकेश्वर नगरपालिकाको विभिन्न वडाहरुले प्रवाह गर्ने सेवाहरु मध्ये स्वास्थ्य, शिक्षा, राजश्व सङ्कलन, कार्यालय रुपाङ्कन र सरसफाइ तथा अन्य सार्वजनिक सेवा प्रवाहको अवस्था, त्यससँग सम्बन्धित समस्या र समाधानका उपायहरु सहितको Learning Reflection प्रस्तुत गर्नुभयो । उहाँले मुख्य समस्याको रुपमा वडामा रहेका सार्वजनिक निकाय र उक्त निकायले प्रदान गर्ने सेवाको बारेमा सेवाग्राहीलाई जानकारी नभएको र सार्वजनिक निकायको कार्यालय रुपाङ्कन तथा सरसफाइको अवस्था दयनीय रहेको लगायतका अन्य समस्यहरुबारे जानकारी प्रस्तुत गर्नुभयो ।उक्त समस्या समाधानका लागि सार्वजनिक निकायहरुको location सहितको बोर्ड राख्ने, location tracking को लागि QR code प्रयोग गर्ने, सेवा प्रवाह सम्बन्धि आवश्यक जानकारीका लागि माइकिङ गर्ने, सफा र व्यवस्थित खुला कार्यालयको अवधारण अवलम्बन गर्ने लगायतका नवप्रर्द्धनात्मक उपायहरु प्रस्तुत गर्नुभयो ।
तत् पश्चात दोस्रो प्रस्तुतीको रुपमा रारा समूहको तर्फबाट दिलिप कुमार साहले किर्तिपुर नगरपालिकाले प्रदान गर्ने शहरी योजना, यातायात, कृषि, शिक्षा तथा खानेपानीसँग सम्बन्धित सेवाहरुको अवस्था, समस्या र त्यसको निराकरणका लागि समाधानका उपायहरु सहितको Learning Reflection प्रस्तुत गर्नुभयो । उहाँले मुख्य समस्याको रुपमा नगरपालिकमा शहरी योजना भए तापनि प्रभावकारी कार्यान्वयन नभएको, अव्यवस्थित सार्वजनिक यातायात र पार्किङको अभाव, खानेपानीको उचित व्यवस्थापनको अभावमा माग बमोजिम आपूर्ति हुन नसकेको लगायतका अन्य समस्यहरुबारे जानकारी प्रस्तुत गर्नुभयो ।उक्त समस्या साधानका लागि कार्यान्वयनयोग्य शहरी योजना निर्माण गरि लागु गर्ने, निजी क्षेत्रसँगको सहकार्यमा विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने साथै आवश्यक पार्किङ स्थल निर्माण गर्ने, दुधपोखरीमा खेर गइरहेको पानीलाई भण्डारण गरि आवश्यक स्थानहरुमा आपूर्ति गर्ने लगायतका नवप्रर्द्धनात्मक उपायहरु प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा तेस्रो प्रस्तुतिको रुपमा महाकाली समूहको तर्फबाट धनि प्रसाद खड्काले पब्लिक युथ क्याम्पमा ICT मा आधारित भर्ना प्रक्रिया, क्षेत्रपाटी नि:शुल्क चिकित्सालयको पूर्वाधार व्यवस्थापन मार्फत सामुदायिक स्वास्थ्य सुधार गर्ने, आयुर्वेदिक चिकित्सालय, नरदेवीबाट प्रदान हुने सेवा, का.म.न.पा. वडा नं. १६ मा कर व्यवस्थापन र वडा नं. १७ मा सशक्तिकरणको माध्यमबाट दिगो सामाजिक आर्थिक विकाससँग सम्बन्धित सेवाहरुको अवस्था, समस्या र त्यसको निराकरणका लागि समाधानका उपायहरु सहितको Learning Reflection प्रस्तुत गर्नुभयो । उहाँले मुख्य समस्याको रुपमा क्याम्पसमा कागजी भर्ना र नगद भुक्तानी प्रक्रिया, नि:शुल्क चिकित्सालयमा भौतिक पूर्वाधारको अभावमा सेवा प्रवाहमा असहजता, आयुर्वेदिक चिकित्सालयमा सेवाग्राहीमा आयुर्वेदिक उपचार पद्दतीका बारेमा जनचेतनाको अभाव, का.म.न.पा. वडा नं. १६ मा दर्ता नभएको व्यवसाय लगायतका कारण करको दायरा साँघुरिएको, वडा नं. १७ मा सशक्तिकरणका कार्यक्रम प्रभाकारी नरहेको लगायतका अन्य समस्यहरुबारे जानकारी प्रस्तुत गर्नुभयो ।उक्त समस्या साधानका लागि अनलाइन भर्ना तथा भुक्तानी प्रणाली, बिरामीमैत्री आधुनिक पूर्वाधार व्यवस्थापन, आयुर्वेदिक उपचारप्रति आकर्षण बढाउन जनचेतनामूलक कार्यक्रम, व्यवसाय दर्ता र कर भुक्तानीका लागि अनलाइन प्रणालीको प्रयोग, सशक्तिकरण कार्यक्रमको प्रभावकारी अनुगमन तथा मूल्याङ्कन गर्ने लगायतका नवप्रर्द्धनात्मक उपायहरु प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले सार्वजनिक सेवाको ढाँचा निर्माण र सुधारको उपाय सेवाग्राहीसँग हुने हुँदा त्यसको हरेक प्रक्रियामा सेवाग्राहीको सँलग्नता सुनिश्चित हुनु पर्ने, सेवा प्राप्तिको क्रममा सेवाग्राहीको प्रवेश र वहिर्गमन विन्दुसम्मको यात्रा सहज हुनु पर्ने, सेवाको ढाँचा निर्माण र प्रवाहमा नवप्रवर्द्धनको उपयोग गरि सेवा प्रवाहलाई जनअपेक्षा अनुरुप बनाउनु पर्ने, सेवा प्राप्तिको प्रक्रिया घटाउनु पर्ने लगायतको टिप्पणी सहितको मन्तव्य राख्दै पोष्टर प्रस्तुतिकरण कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको जानकारी गराउनु भयो ।