प्रतिष्ठानको गौरवमय ४२औँ वार्षिकोत्सव समारोह ।

आज मिति २०८१/०६/११ गते नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको गौरवमय ४२औँ वार्षिकोत्सव समारोह आयोजना गरियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवम् प्रतिष्ठानको प्रशिक्षण परिषदका अध्यक्ष माननीय राजकुमार गुप्ताज्यूले पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । प्रतिष्ठानका उपकार्यकारी निर्देशक श्री विष्णुप्रसाद लम्सालज्यूले वार्षिकोत्सव कार्यक्रममा उपस्थित अतिथिहरूको स्वागत गर्दै प्रतिष्ठानको वार्षिक प्रगति समीक्षा प्रस्तुत गर्नु भएको थियो ।

समारोहमा गत आर्थिक वर्षमा प्रतिष्ठानले गरेका उपलब्धि, नयाँ पहलकदमी तथा आगामी योजनाहरू समेटिएको २०८०/८१ को वार्षिक प्रतिवेदन प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालज्यूले माननीय मन्त्री राजकुमार गुप्ताज्यूसमक्ष पेश गर्नुभयो । त्यसैगरी, माननीय मन्त्रीज्यूले प्रतिष्ठानले तालिम कार्यक्रम तर्जुमा एवम् तालिम विधिहरूमा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गरी प्राप्त गरेको NS/ISO 9001:2015 प्रमाणपत्र सार्वजनिक गर्नुभयो ।

समारोहमा माननीय मन्त्रीज्यूले गत आर्थिक बर्षमा उत्कृष्ट कार्यसम्पादन गर्नुहुने कर्मचारीहरू प्रशासकीय तथा वित्तीय अधिकृत श्री गोविन्द महर्जन, प्राध्यापन तथा अनुसन्धान अधिकृत श्री पृथा पौड्याल, कार्यालय सहयोगीहरू श्री शर्मिला पोडे र श्री पुष्पराज दुवाललाई पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा माननीय मन्त्रीज्यू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय प्रा. डा. शिवराज अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव श्री भरतमणि सुवेदीले प्रतिष्ठानको उपलब्धिहरूको प्रशंसा गर्दै आगामी दिनमा थप ऊर्जाका साथ कार्यसम्पादन गरी प्रतिष्ठानको प्राज्ञिक उन्नयन र संस्थागत विकासमा लागिरहने प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको अन्त्यमा वार्षिकोत्सव समारोहका अध्यक्ष एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले प्रतिष्ठानको प्रशिक्षण, अनुसन्धान तथा परामर्श कार्यहरूमा निरन्तर सुधार गरी प्रतिष्ठानलाई क्षमता विकासको उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रममा उपस्थित सबैजनालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

दोस्रो चरणको कार्यक्रममा कार्यकारी निर्देशक डा. राजन खनालले वार्षिकोत्सवको अवसरमा आयोजित खेलकूद प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने कर्मचारीहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो । साथै, प्रतिष्ठानका कर्मचारीहरूले सांस्कृतिक कार्यक्रमको आयोजना गरी आ-आफ्नो प्रतिभा प्रदर्शन समेत गर्नुभयो ।