नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलद्वारा सञ्चालित ACMD तालिमको खप्तड पाँचौ समूहको KYE  Module को प्रस्तुतीकरण

 

मिति २०७९ साल माघ २० गते तालिमको २० औं दिनको पहिलो सेसनमा तालिममा सहभागीहरु मध्येको पहिलो समूहको कन्सुलर सेवा प्रवाहमा स्थानीय तहसँगको सहकार्य शीर्षकमा प्रस्तुतीकरण रह्यो । सो कार्यक्रम बिहान १०.३० बाट शुरु भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक श्री डा. राजन खनाल रहनु भएको थियो भने अध्यक्षता समूहका सहभागी ध्रुव प्रसाद अधिकारीले गर्नु भएको थियो । अतिथिका रुपमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सिनियर डाइरेक्टर तुलसी शरण सिग्देल, कार्यक्रम संयोजकद्वय शिवहरि अधिकारी र लिलानाथ सापकोटा रहनु भएको थियो । अन्य सहभागिमा तालिममा सहभागी विभिन्न निकायको प्रतिनिधित्व गर्दै आउनु भएका २८ जना सहभागी रहनु भएको थियो । कार्यक्रमको सञ्चालन प्रज्ञादेवी निरौलाले गर्नुभएको थियो भने कार्यपत्र प्रस्तुतीकरण प्रकाश अधिकारी र झविन्द्र प्रसाद पान्डेले गर्नु भएको थियो । त्यसै गरी कार्यक्रम व्यवस्थापकको भूमिकामा राजेन्द्र प्रसाद अर्याल रहनुभएको थियो भने टिप्पणीकर्ताको रुपमा घनेन्द्र बहादुर खनाल हुनुहुन्थ्यो ।

कार्यपत्रको प्रस्तुतिमा नेपालमा कन्सुलर सेवा प्रवाहको बारेमा जानकारी दिइएको थियो । कन्सुलर सेवा प्रवाहका क्षेत्रभित्र पर्ने कागजात प्रमाणीकरण, कानुनी परामर्श, क्षतिपूर्ति तथा बिभिन्न समस्यामा परेका नेपाली नागरिकहरुको खोज तथा उद्धार लगायतका कार्यहरु पर्ने जानकारी गराइएको थियो । कन्सुलर सेवाले समेट्ने क्षेत्रहरुमा सरकारको मनोनयनमा विदेश भ्रमण गर्ने पदाधिकारीको सम्बन्धित देशको प्रवेशाज्ञाको सिफारिस, राहदानी तथा भिसा जारी विदेशमा रहेका आफ्ना नागरिकको हकहित तथा सुरक्षा सम्बन्धी कार्य, ट्राभल एडभाइजरी, वाणिज्य व्यापार र सांस्कृतिक आदान प्रदान लगायतका विषयहरु रहेका थिए । यस्ता कार्य सञ्चालनका लागि देशका कुनै पनि स्थानमा कन्सुलर सेवा विभागको शाखा कार्यालय नरहने र अधिकांश सेवाग्राहीहरु स्थानीय तहमा रहेका अधिकांश कागजातहरु समेत स्थानीय तहबाट आउने भएकोले स्थानीय तहसँगको सहकार्य अपरिहार्य रहेको कुरा प्रस्तुतीकरणमा रहेको थियो ।

कागजात प्रमाणीकरणको प्रकृयाले राष्ट्रको छविलाई अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने तथा कतिपय स्थानीय तहबाट आवश्यक ढाँचामा कागजात नआउने भएकाले कार्य सञ्चालनका सिलसिलामा एकरुपता कायम गर्न तथा स्थानीय तहबाट केन्द्रसम्म आउनु पर्ने बाध्यात्मक परिस्थितिको समेत अन्त्य गर्नका लागि सहकार्यको जरुरत रहेको कुरा स्पष्ट पारिएको थियो । यसबाट स्थानीय नागरिकहरुले आफ्नै स्थानबाट सेवा प्राप्त गर्न सक्ने र उनीहरुको समय र स्रोतको समेत बचत हुने कुरामा जोड दिइएको थियो । प्रस्तुतीकरणमा विभिन्न प्रकारका काजगातहरुको नमुना प्रस्तुत गरी राम्रा र सुधार्नु पर्ने क्षेत्रहरुको तुलना गरिएको थियो । स्थानीय निकायहरु सबल नहुनु तथा कागजातको ढाँचाहरु फरकफरक भएकाले सुरक्षा चुनौती रहेको समेत उल्लेख गरिएको थियो । स्थानीय तहसँग सहकार्य गर्दा सेवाग्राहीहरुलाई आर्थिक भार नपर्नुका साथै दोहोरो झन्झट तथा ठगिने क्रमबाट बच्न सकिने लगायतका फाइदाहरु रहेको बारेमा प्रस्तुत गरिएको थियो ।टिप्पणीकर्ता घनेन्द्र बहादुर खनालले समग्रमा कार्यपत्रले संवेदनशील विषयवस्तुलाई समेटको र स्थानीय तहमा कार्य सन्चालन गर्न कार्ययोजना सहितको प्रस्तुति रहेको भए अझ प्रभावकारी रहने टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा ७ जना सहभागीका तर्फबाट विभिन्न जिज्ञासाहरु रहेका र त्यसमा प्रस्तुतकर्ताहरुले यथोचित सम्बोधन गर्नुभएको थियो । प्रमुख अतिथिबाट कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम सञ्चालन विधि तथा सहकार्यका बारेमा जानकारी प्रदान गरिएको थियो । कार्यक्षेत्रमा काम गर्दा देशको आर्थिक पक्षलाई ध्यान राखी काम गर्नु पर्ने कुरामा जोड दिनुका साथै उचित तथ्याङ्कका आधारमा नीति तथा कार्यक्रम तय गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो । अन्तमा कार्यक्रमको अध्यक्षता गर्नु भएका ध्रुव कोइरालाबाट प्रस्तुतीकरणका बारेमा संक्षेपीकरण गर्दै प्रमुख अतिथि अतिथि लगायत सम्पूर्णलाई धन्यवाद दिदैं १२.३० मा कार्यक्रमको समापन गरिएको थियो ।