३७औं आधारभूत प्रशासन प्रशिक्षण  कार्यक्रमको समापन ।

 

 

प्रेस विज्ञप्ति

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा नेपाल सरकारका नव–नियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका सामान्य प्रशासन सेवा, प्रशासन समूहका अधिकृतहरुका लागि मिति २०८० असोज १७ गते शुभारम्भ भएको ६ महिने ३७औं आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training) कार्यक्रमको आज मिति २०८० चैत ३० गते समापन गरियो । जस अन्तर्गत १६ महिला तथा ६६ पुरुषसहित कुल ८२  जना प्रशिक्षार्थीहरु दीक्षित  भए  ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका  माननीय मन्त्री श्री भानुभक्त जोशीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई जनताको हितमा प्रयोग गर्नका लागि निर्देशन दिनुभयो । मन्तव्यकै क्रममा वहाँले प्रशिक्षार्थीहरुले ईमान्दारीताका साथ सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । साथै वहाँले प्रशिक्षार्थीहरुलाई देश र जनताको सेवागर्ने हरेक निकायका व्यक्तिहरुले आ-आफ्नो आत्मसमिक्षा गर्न जरुरी रहेको बताउदै ३७औं आधारभूत प्रशासन प्रशिक्षणबाट दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्नुभयो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले दीक्षित प्रशिक्षार्थीहरुलाई बधाई एवं शुभकामना व्यक्त गर्दै प्रशिक्षार्थीहरुलाई हरेक कुरामा सकारात्मक सोच राखेर अगाडी आइपर्ने समस्याको  निराकरण गर्दै राष्ट्रसेवा गर्ने जिम्मेवारी सम्हाल्न तयार रहनुपर्ने बताउनुभयो ।

समापन मन्तव्यका क्रममा कार्यक्रमका सभाध्यक्ष नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. राजन खनालले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट दीक्षित सम्पूर्ण प्रशिक्षार्थीहरुलाई बधाई ज्ञापन एवं आगामी दिनहरुको लागि शुभकामना व्यक्त गर्नुभयो । साथै वहाँले दीक्षित प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गर्नुभयो । 

प्रशिक्षणको पूनरावलिकन सहित स्वागत मन्तव्य राख्ने क्रममा प्रतिष्ठानको सार्वजनिक सेवा प्रशिक्षण विभागका प्रमुख एवं बरिष्ठ अध्ययन निर्देशक त्रिलोचन पोखरेलले प्रशिक्षण कार्यक्रमलाई समय सापेक्ष परिमार्जन गरी कार्यक्रमलाई थप सहभागीतामूलक, प्रयोगात्मक, र व्यवहारिक बनाउन प्रयास गरिएको वताउनुभयो ।  यस आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमबाट दीक्षित हुने प्रशिक्षार्थीहरुको काँधमा थप जिम्मेवारी रहने विचार व्यक्त गर्दै जनताको अपेक्षा संबोधन गर्न प्रशिक्षार्थीहरुले आफ्नो तहबाट पूर्ण प्रयास गर्नुहुने विश्वास समेत वहांले व्यक्त गर्नुभयो ।

कार्यक्रम शुभारम्भमा प्रशिक्षार्थीहरुद्वारा सामुहिक रुपमा तयार पारिएको मूल्य र मान्यता प्रतिको प्रतिवद्धताहरु सामुहिक रुपमा वाचन गर्दै ती मूल्य र मान्यताहरु जीवनपर्यन्त लागू गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । प्रशिक्षार्थीहरुको तर्फबाट मन्तव्य व्यक्त गर्ने सिलसिलामा अस्मिता ढकाल र शिबप्रसाद भन्तनाले आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको समग्र सिकाइ अनुभव एवं प्रशिक्षण कार्यक्रम सम्बन्धमा समीक्षा गर्नुभएको थियो ।

For more details visit: Click Here