Cases of Nepal's Public Administration

नेपालका सार्वजनिक प्रशासनका मामिलाहरु अङ्क १ नेपाल सरकारका नवनियुक्त शाखा अधिकृतहरुले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको २८ औँ आधारभूत प्रशासनिक प्रशिक्षणको क्रममा सार्वजनिक प्रशासनका विभिन्न विषय तथा मुद्दालाई अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी तयार पारिएका लेखहरु समावेश गरि प्रकाशित गरिएको छ । यस प्रकाशनका मुख्य तीन वटा उद्देश्यहरु रहेका छन्ः प्रशिक्षार्थीहरुलाई अध्ययन तथा अनुसन्धानका लागि थप अभिप्रेरित गर्नु, ती लेखहरुलाई प्रतिष्ठानले प्रदान गर्ने प्रशिक्षणहरुमा सन्दर्भ सामग्रीका रुपमा प्रयोग गरी प्रशिक्षणहरुलाइ व्यावहारिक तथा समय सान्दर्भिक बनाउनु, र नेपालको सार्वजनिक प्रशासनका विविध पक्षहरुलाई उजागर गरी नीति निर्माता, प्रशासक एवं अध्ययन तथा अनुसन्धानकर्तालाई सोको जानकारी प्रदान गराउनु रहेको छ ।
 
सकेसम्म धेरै लेखहरुलाई समावेश गर्ने प्रयास गर्दागर्दै पनि यस सङ्ग्रहमा विभिन्न २८ वटा मामिलाहरु मात्र समेट्न सकिएको छ । आगामी अंकहरुमा सकेसम्म धेरै लेखहरु प्रकाशन गर्ने प्रयास गरिने छ । यस सङ्ग्रहमा रहेका मामिलाहरुले नेपालको सार्वजनिक प्रशासनका विविध पक्षहरुलाई प्रस्ट्याउने प्रयास गरेका छन् । सेवाग्राहीले भोग्नु परेका व्यावहारिक समस्याहरु तथा अन्य समसामयिक विषयहरु समेटिएका (नागरिकता, राहदानी, जग्गासम्बन्धी झमेलाहरु लगायत सार्वजनिक सुनुवाइ, नागरिक बडापत्र आदिको प्रभावकारिता, कार्यालयहरुको अवस्था र संरचनाका लागि राज्यले सार्वजनिक प्रशासनमा सुधार ल्याउन गरेका प्रयासहरु आदि) मामिलाहरु रहेका छन् । यस अर्थमा यो प्रकाशनलाई नेपालको सार्वजनिक प्रशासनको ऐना भन्दा पनि अत्युक्ति नहोला ।
 
प्रकाशनलाई यो अवस्थासम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्ने लेखकहरुलाई धन्यवाद साथै आफ्ना कृतिहरु उपलब्ध गराउने सबै लेखकहरुलाई साधुवाद व्यक्त गर्दछाँै । कृति छनौटमा भूमिका खेल्नुहुने समीक्षकहरु श्री तुलसी शरण सिग्देल, श्री अचला दाहाल, श्री वसन्तराज सिग्देल, श्री राजेन्द्र अधिकारी र श्री सन्तोष कोइराला तथा भाषा सम्पादन गर्नु हुने श्री यज्ञेश्वर निरौलालाई धन्यवाद दिन चाहन्छौँ । यो प्रकाशनलाई आफ्ना अमूल्य सुझावहरु तथा उप्प्रेरणा प्रदान गर्नु हुने प्रतिष्ठानका कार्यकारी निर्देशक श्री पुण्यप्रसाद न्यौपाने, उपकार्यकारी निर्देशक डा. तारकबहादुर के.सी., वरिष्ठ निर्देशक श्री केदारबहादुर रायमाझी, निर्देशक श्री भरत थापा र श्री कमल नयन प्रधानलाई हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
 
यस प्रकाशनको निरन्तरता र स्तरोन्नतिका लागि सबै प्रकारका सुझावहरुको अपेक्षा गर्दछौँ ।
PDF icon Download resource (741.17 KB)